१८ चैत, एजेन्सी ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले १५÷१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । जसअनुसार नयाँ सूचीमा पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ ।
यसले निगमलाई अबका दिनमा निकै नाफा हुने देखिएको छ । यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ । पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो ।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ । यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ । निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ ।
नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ । आफ्नो नोक्सान बढ्छ भन्दै मूल्य बढाउने मामिलामा निगम व्यवस्थापन हतारिने गरेको छ । तर, घटाउने मामिलामा की उपभोक्ताले सडकबाट दबाब दिनुपर्छ, नत्र सरकारले नै हस्तक्षेप गर्नुपरेको स्थिति रहेको छ ।