१५ साउन,काठमाण्डौ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । एयरलाइन्सको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि रोकिएको पोखरा विमानस्थल कार्यालयकी प्रवक्ता जशोदा सुवेदीले बताएकी छन् । उनकाअनुसार जहाज बिहान ११ः५० बजे पोखराबाट काठमाडौंमा जाने तयारीमा थियो ।
उक्त जहाजमा काठमाडौं जाने यात्रुलाई भने अर्को विमानमा पठाइएको छ । जहाजमा मुसा देखिएपछि उडान रोकेर खोजी शुरू गरिएको उनले बताइन् । साढे दुई घण्टादेखि जहाजमा मुसा खोजी भइरहेको उनले बताइन् । तर, साढे २ घण्टासम्म खोज्दा पनि मुसा भेटिएको छैन । उनले भनेकी छन्, ’जहाजमा मुसा देखियो भनेपछि उडान रोकेर खोजीरहका छौं तर, अहिलेसम्म भेटिएको छैन,’ ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं उडेका छन् । यसअघि गत जेठमा बुद्ध एयरको जहाजभित्र मुसा देखिएको थियो ।
मुसा भेटिएपछि जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा खोजी गर्दा मुसा भेटिएको थियो ।जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजगता अपनाइएको थियो ।