एजेन्सी,असोज ७
स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनालाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले अहिलेसम्म ५ खेलबाट १३ अंक जोडेको छ भने ४ खेलमा अपराजित यात्रा कायम राखेको बार्सिलोना १२ अंकका साथ दोस्रो स्थानमा छ । बर्सिलोना र जिरोनाबीचको खेल आज हुँदैछ ।
आजको खेलको नतिजा बार्सिलोनाको पक्षमा गए फेरि शीर्ष स्थानमा उक्लने छ । शनिबार राति भएको खेलमा रियलले स्पानियोलमाथि १–० को जित दर्ता गरेको थियो ।
रियलको जितमा मार्को एसेन्सियोले एक मात्र निर्णायक गोल गरेका थिए । रियलको घरेलु मैदानमा भएको खेलको ४१औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलले पछि परेको स्पानियोलले दोस्रो हाफमा गोल फर्काउन नसक्दा रियलसँग पराजित हुुन बाध्य भयो । शनिबार राति पराजित भएको स्पानियोलले ५ खेलबाट ७ अंक बटुल्दै तालिकाको छैटौ स्थानमा छ ।