२५ असोज , काठमाण्डौ ।
तिन दिनदेखि चलेको नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि वस्दैछ । यसै गरी नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । दुवै दलमा नेतृत्व परिवर्तन, पार्टीको भावी रणनीति र फागुन २१ गतेको निर्वाचनका बारेमा केन्द्रित रहेर गहन छलफल भई रहेको छ ।
नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुङ्गो लगाउने बताएको छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रवार बसेका बैठकमा तीन प्रमुख एजेन्डा—पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जड—उठेका थिए ।
शुक्रवारको बैठकमा कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी थिए । बैठकमा नेताहरूले मङ्सिरमा नियमित महाधिवेशन गर्ने, कार्यसमितिको म्याद थप्न नहुने र अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।
वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मङ्सिरमा सकिँदै छ । त्यस्तै, सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन र गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनको कारण तथा प्रभावबारे पनि केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने तयारी भएको छ ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित छैन । उपाध्यक्ष पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरी रहेका छन् । उता, नेकपा ९एमाले०को सचिवालय बैठक पनि आज बिहान ११ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्नेछ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा छलफल केन्द्रित हुनेछ । हिजो बसेको सचिवालय बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको जवाफ खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।
त्यस बैठकमा भदौ २३–२४ को जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो । एमालेले राष्ट्रिय एकताको वातावरण बनाउन, सबै राजनीतिक शक्तिलाई निषेध नगरी सहकार्यका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय गरिएको छ । शुक्रवारको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाउन नहुने र अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु पर्ने कुराले समेत औपचारिक रूपमा प्रवेश पाएको छ ।
तर ओली पद छोड्न पक्षमा छैनन् भने विद्या भण्डारी प्रति यस अघि निकै आक्रामक रहेका ओलीले पछिल्लो समय केही बोलेका छैनन् ।










