विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

१८ कार्तिक , काठमाण्डौ ।

यूएई भ्रमण रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप लिग–२ अन्तर्गत भोलि अमेरिका र यूएईसँग अन्तिम खेल खेल्दैछ जारी सिरिजमा अहिलेसम्म जितविहीन नेपालको निराशाजनक खेलले एक दिवसीय मान्यतामा समेत संकटको बादल लागेको छ ।

लिग–२ मा नेपालले अब १७ खेल खेल्न बाँकी छ। अंक गणितीय हिसाबलाई हेर्ने हो भने नेपालको ओडीआई मान्यता जोगाउनका लागि आगामी यात्रामा भर पर्नेछ। तर टेस्ट टोलीको सपना पछ्याइरहेको नेपाली टोलीको अहिलेको प्रदर्शनले भने नेपालको ओडीआई मान्यता पनि संकटमा पर्ने देखिएको छ ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो। अमेरिकासँग कै दोस्रो खेलमा ४ विकेटको हार व्यहोरेको थियो। यूएईसँग पहिलो खेलमा ५ विकेटको हार भोगेको नेपालले सिरिजको अन्तिम खेल भोलि खेल्दैछ।

सो खेलपछि नेपालको यूएई भ्रमण सकिनेछ। लिग–२ मा नेपालले कुल ३६ खेल खेल्नेछ। नेपालले टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुँदै आफ्नो खेल कौशल देखाए पनि एकदिवसीय छनोटमा भने लय नै हरायो। नेपाली खेलाडीहरुमा ब्याटिङ , बलिङ र फिल्डिङमा समेत कमजोरी देखिएका छन् ।

त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हारसँगै नेपाल पुनः लिग–२ को कठिन यात्रामा धकेलिएको छ। अमेरिकाविरुद्धको दोस्रो खेलमा टोलीको कमजोर फिल्डिङ हारको कारण बन्यो। सुरुवाती खेलको तुलनामा ब्याटिङमा सुधारिएको प्रर्दशन गरेको नेपाली टोलीको मध्यक्रम कमजोर देखियो।

पावर प्लेमा टिक्न नसक्नु र डेथ ओभरमा आक्रमक पारी खेल्न नसक्नु नेपाली टोलीको हारको प्रमुख कारण बन्दै आएको छ। जारी सिरिजमा आशा गरिएका ललित राजवंशी विकेट विहीन छन् भने कुशल भुर्तेल रन र विकेट दुवैमा संकटमा छन्।

उता टोलीका अनुभवी खेलाडी करण केसी, सोमपाल कामीको प्रर्दशन प्रशंसा योग्य छैन। व्यक्तिगत प्रर्दशनमा कप्तान रोहित पौडेलले यूएईविरुद्ध शतक प्रहार गर्दै ओडीआईमा दुई शतक बनाउने पहिलो खेलाडी बने।

यद्यपि सो खेलमा पनि नेपालले जित हात पार्न सकेन। लिग–२ मा १९ खेल खेलिसकेको नेपालले मात्र ५ खेलमा जित निकाल्दा १२ खेलमा हार भोगेको छ। २ खेलमा भने अंक बाँडेको छ। ५ खेलको जित र २ खेलमा अंक बाँडेपछि नेपाली टोली १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ।

अर्थात पुछारबाट नेपाली टोली दोस्रो स्थानमा छ। नेपालसँगै समान १९ खेल खेलेको यूएई ४ खेलमा जित र १४ खेलमा हार भोग्दै ८ अंकमा अंक तालिकाको पुछारमा छ। १८ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

यूएईमा जारी सिरिजमा लगातार तीन खेलमा हार भोगेपछि नेपाललाई सिधै विश्वकप छनोट खेल्न र एक दिवसीय मान्यता जोगाउन पनि कठिन पर्ने देखिएको छ। यसअघि पनि नेपालको ओडीआई मान्यता संकटमा परेको समयमा मोन्टी देसाई मुख्य प्रशिक्षकको रुपमा आएर नेपाललाई नयाँ बाटो देखाएका थिए।

देसाईको बिदाइ र स्टुआर्ट लको आगमनपछि नेपाली टोलीको आगामी यात्रा सहज बन्ने देखिए पनि लिग–२ यात्रा थप कठिन बन्दै गएको छ। विश्वकप लिग–२ २०२३–२४–२७ यात्रा नेपालले घरेलु मैदानबाट सुरु गरेको थियो। घरेलु मैदानमा नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा नेदरल्यानड्सलाई ९ विकेटले हराएको नेपालले सिरिजको तेस्रो खेलमा नामिबियासँग २ विकेटले हार भोगेको थियो । सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो। ओमान र क्यानडासम्मिलित सिरिजमा नेपाल क्यानडासँग १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटको हार व्यहोरेको थियो ।

ओमानसँग पहिलो खेलमा १ विकेटको हार भोग्दा दोस्रो खेलमा भने अंक बाँड्यो । अमेरिकाको डालासमा भएको स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो।

तेस्रो खेलमा अमेरिकासँग ३७ रनले पराजित हुँदा स्कटल्यान्डसँग अंक बाँडेको थियो। स्कटल्यान्डको डुन्डीमा भएको नेदरल्यान्डसम्मिलित सिरिजमा नेपालले घरेलु टोलीलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले तथा स्कटल्यान्डलाई २ रनले पाखा लगाएको थियो।

अन्तिम खेलमा भने डच टोलीलाई १६ रनले हराएको थियो। लिगको १९ खेलमा ५ खेलमा जित र १२ हार र २ खेलमा अंक बाँडेको नेपाल १२ अंकमा सातौँ स्थानमा छ। नेपालले ओडीआई मान्यता कायम राख्न कम्तिमा शीर्ष पाँच स्थानमा रहनुपर्ने हुन्छ।

वर्तमानमा १२ अंकको साथ सातौँ स्थानमा रहेको नेपालले बाँकी १७ खेलमा राम्रो प्रदर्शन गर्नु आवश्यक छ। २०७४ सालमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर इतिहासमै सबैभन्दा ठूलो सफलता हात पारेको थियो ।

नेपालसँगै स्कटल्याण्ड, युएईले पनि आइसीसीको ओडिआई मान्यता पाएका थिए । नेपालले सन् १९९६ मा आइसीसीको एसोसिएट राष्ट्रको मान्यता पाएको थियो।एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो उपलब्धि बनेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता दिँदै आएकोछ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्ने ढोका खुलेका थिए ।

एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन । किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् ।

नेपाल एसोसिएटका तर्फ बाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ । अब टेस्ट राष्ट्रको सपना बुनिरहेको नेपालका लागि जारी विश्वकप लिग २को प्रर्दशनले निराश बनाएको छ। विश्वकप लिग २ बाट शीर्ष टिमहरू विश्वकप क्वालिफायर हुँदै शीर्ष टिम सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा छनोट हुन सक्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.