एजेन्सी, माघ २८
सिजनको दोस्रो मड्रिड डर्बीमा रियल मड्रिडले सहज जित निकालेको बेला यता रामोसले आफ्नो धारणा पस्किन थालेका छन् । एथ्लेटिकोको घरमा भएको खेलमा रियलले घरेलु टोलीलाई ३–१ ले स्तब्ध बनाएको थियो । जितपछि रियलले एथ्लेटिकोलाई पछि पार्दै लिगको दोस्रो स्थानमा पनि चढेको छ ।
सो खेलपछि रियलका कप्तान सर्जियो रामोसले रियल जितको उत्कृष्ट लयमा फर्किएको दाबी गरेका छन् । उनले एथ्लेटिकोमाथि हरहालतमा जित निकाल्नैपर्ने दबाब आफूहरूमाथि रहेकोमा आफूहरू सो नतिजा निकाल्न सफल भएको खुसीसमेत व्यक्त गरे ।
‘यस खेलमा हाम्रो प्रमुख उद्देश्य भनेकै जित थियो, जसमा हामी सफल पनि भयौं,’ रामोसले भने, ‘यसले उपाधि होड खुला गरेको छ ।’ रामोसले लिगमा उपाधि होड अहिले पनि खुला रहेको बताए । ‘यो जितले हामी दोस्रो स्थानमा चढेका छौं, यो हाम्रा लागि महत्त्वपूर्ण हो,’ रामोसले भने । रामोसले अब लिग लिडर बाार्सिलोनासँग आफूहरूको प्रतिस्पर्धा खुलेको पनि बताए । ‘लिग जित्न त्यहाँ अझै थुप्रै अंक बाँकी छ, बाँकी खेलमा जे पनि हुनसक्छ,’ उनले भने, ‘हामी बार्सिलोनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार छौं ।’