एजेन्सी, चैत १६
जारी आईपीएलमा दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानले सानदार सुरुवात गरेका छन् ।
उनले खेलको सुरुवातीमै विकेट हात पारेका छन् । सन्दीपले सुरुवाती दुई ओभरमा एक विकेट लिँदै मात्र ७ रन खर्चेका छन् । इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो ।
सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।
चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे ।