काठमाडौं, वैशाख १७
चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारको लक्ष्यभन्दा कम राजस्व उठेको पाइएको छ । भन्सार विभागलाई आयात–निर्यात र भन्सार राजस्वसम्बन्धी विवरण जारी गर्न अर्थमन्त्रालयको ठाडो आदेशमा रोक लगाइए पनि आन्तरिक राजस्व विभागको अर्को विवरणले सरकारको राजस्व असुली कम भएको देखाएको हो ।
चालू आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको संशोधित लक्ष्य भए पनि वैशाख १५ गतेसम्म ५ खर्ब २४ अर्ब रुपैयाँमात्र संकलन भएको छ । यसले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने स्पष्ट संकेत देखाएको छ । चालू आर्थिक वर्षमा भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायतका सबै करको असुली लक्ष्यभन्दा कम छ ।
प्राप्त विवरणअनुसार चालू आवको पहिलो ८ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ खर्ब ५२ अर्ब ६६ करोड, भन्सारबाट १ खर्ब ३ अर्ब ६७ करोड, आयकरबाट १ खर्ब ६ अर्ब ५६ करोड र अन्तःशुल्कबाट ७८ अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ ।
यसैबीच, आन्तरिक राजस्व विभागको एक आन्तरिक प्रतिवेदनअनुसार गत वर्षको तुलनामा आर्थिक वर्ष २०७५र७६ को पहिलो आठ महिनामा २०.३८ प्रतिशत बढीले राजस्व बढी संकलन भए पनि लक्ष्यभन्दा कम असुली भएको हो ।
स्रोतका अनुसार आन्तरिक राजस्व विभागका लागि साउनदेखि फागुनसम्म २ खर्ब ३० अर्ब ५४ करोड रुपैयाँको लक्ष्य तोकिएकोमा २ खर्ब २ अर्र्ब ६८ करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ ।
आयकरतर्फ .१ खर्ब २२ अर्ब ३४ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा १ खर्ब ४ अर्ब ४९ करोड रुपैयाँमात्र संकलन भएको छ । यो लक्ष्यको तुलनामा ८५.३५ प्रतिशतमात्रै हो ।
यस्तै, मूल्य अभिवृद्धि करतर्फ ६२ अर्र्ब ६८ करोड रुपैयाँ लक्ष्य उठाउने लक्ष्य राखिएकोमा केबल ५१ अर्ब ५२ करोड अर्थात लक्ष्यको ८२.२० प्रतिशतमात्र उठेको छ ।
अन्तःशुल्कतर्फ पनि ८ महिनामा ४४ अर्ब ९० करोड रुपैयाँ लक्ष्य राखिएकोमा ४४ अर्ब ३१ करोड रुपैयाँमात्र उठेको छ जुन लक्ष्यको ९८.६८ प्रतिशत हो ।
शिक्षा सेवा शुल्कमा भने सरकार सफल भएको छ । चालू आवको पहिलो ८ महिनामा ५२ करोड रुपैयाँको लक्ष्यमा रु ७८ करोड संकलन भई लक्ष्यको तुलनामा १४९.७८ प्रतिशत बढी यो शुल्क उठाइएको राजस्व विभागले जनाएको छ ।