चितवन, चैत ५
चितवनका एक चेपाङ्ग युवाले प्यारामोटर उडाएका छन् । चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङ्गले आफंैले निर्माण गरेको प्यारामोटर उडाएका हुन् ।
स्थानीय स्रोत/साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आज राप्ती नदीको बगरमा उडाएर परीक्षण गरेका हुन् । यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आज भने सफतापूर्वक प्यारामोटर उडाएका हुन् ।
सामान्य परिवारका २० वर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए । ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरेका हुन् ।
प्यारामोटर निर्माण गर्न १ सय ४९ सिसीको मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच,ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताएका छन ।
चेपाङले बनाएको प्यारामोटरमा ३ वटा चक्का समेत भएकोले प्यारासुट नहाली सडकमा गुडाउन सकिनेछ । सरोजले २ जना चड्न मिल्ने मिनी एयरक्राफ्ट समेत निर्माण गरिरहेका छन् ।
तर आर्थिक अभावको कारण इन्जिन खरिद गर्न नसक्दा उनले त्यसलाई पूर्णता दिन नसकेको आमा लिला प्रजाले बताईन् । मिनी एयर एयरक्राफ्ट निर्माण गर्न हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।