१२ वैशाख, सिमकोट ।
बिहीबार हुम्लाका आधा दर्जन पसलहरुमा चोरी भएको छ ।
लकडाउन जारी रहेको बेला बिहीबार राती सदरमुकाम सिमकोटको मुख्य बजार क्षेत्रका पसलहरुमा चोरी भएको हो । कालीचोक स्थित आदित्य जनरल स्टोरका दुईवटा पसलमा एक साथ चोरी भएको पसल संचालक रेशम महतले बताए । चोरले सुरक्षाका लागि राखिएको सिसिटिभी पनि फुटाएको छ ।
सिसिटिभि फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ । कालीचोककै पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ भने एसपी जनरल स्टोरमा पनि ताला काटिएको छ ।
काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको पनि ताला काटिएको छ । सुरक्षा प्रवन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीले बताएका छन् । व्यापारी सरोज रावतले प्रहरीले सुरक्षा गस्ती नै नगरेको आरोप लगाए ।
चोरीको घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।