४ असार, पोखरा ।
हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमीत भेटिएका छन । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । यो
सँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।
गण्डकीमा बिहीबारमात्रै ४२ जना थप संक्रमित भेटिएका छन । पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । मनाङकाबाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका रहेको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।
क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।