२९ भदौ, जनकपुरधाम ।
केही वर्षदेखि अतिक्रमणमा परेको जानकी मन्दिरको फुलबारीको जग्गा अन्तत फिर्ता भएको छ । उक्त जग्गामा अतिक्रण गरी निर्माण गरिएको पर्खाल समेत भत्काइएको छ ।
सडक विस्तारको क्रममा केहि निजी घर बचाउन जानकी मन्दिर अगाडीको फूलबारीको जग्गा अतिक्रण गरी पर्खाल निर्माण गरिएको थियो । लामो रस्साकस्सी र विवाद पश्चात स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा आइतबार साँझ अतिक्रणमा मुक्त गर्न जेसीभी लगाएर पर्खाल भत्काइएको जनकपुरधाम उपमहानगरपालिका–७ का अध्यक्ष जानकीराम साहले जानकारी दिए ।
जनकपुरधाम उपाहानगरपालिका-३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा युवाहरुले फूलबारीको जग्गा अतिक्रमण गरी नवनिर्मित पर्खाल भत्काइएको उनले बताए । जानकी मन्दिर फूलबारीलाई अतिक्रमण मुक्त गराउनकै लागि पर्खाल भत्काइएको वडाध्यक्ष साहले बताए ।
एकीकृत शहरी विकास परियोजना (एडीबी) अन्तर्गत विकास सडक विस्तारको क्रममा मन्दिरको फूलबारीको जग्गा अतिक्रण भएको थियो । नगरपालिकाका मेयर तथा उपमेयरले सडक विस्तारमा परेको केहि घर बचाउन ८५ लाख रुपैयाँको चलखेलमा मन्दिरकै फुलबारीको जग्गा अतिक्रणमा भएको भन्दै त्यसको विरोध र छानविनको माग गर्दै आएका थिए । सोही कारण त्यहाँ सडक विस्तारको काममा स्थानीय युवाहरुले अवरोध खडा गर्दै आएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५र२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर रहेको छ । सडक विस्तारको नाममा बगैंचाको बीचमा ७० मिटर चौडाई पूर्व दक्षिण कुनामा ३ मिटर तथा पूर्व उत्तरको कुनामा ४ दशमलव ८८ मिटर जग्गा अतिक्रमणमा परेको थियो ।