२० असोज, बझाङ । बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटनालाई गाँउमै मिलाउने ६ जना पक्राउ परेका छन् ।
प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन्।
उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए । घटना बाहिरिन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए ।
मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर समेत गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो ।
त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका छन् ।
अहिले उनी प्रहरी हिरासतमा छन् । सम्झना बिकमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो ।
मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डिएसपी रूपक खड्काले बताए।