३० फागुन , काठमाण्डौ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको महत्त्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा रहेका सबै सैन्य शिविरमाथि बम आक्रमण गरेको दाबी गरेका छन् । इरानले हर्मुज जलडमरुहुँदै जहाज आवागमन रोकिरहेमा उक्त टापुको तेल पूर्वाधारमा पनि आक्रमण गर्न सकिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले खार्ग टापुमा ठुलो स्तरको आक्रमण गरेको पुष्टि भएको छ, तर ट्रम्पले दाबी गरेझैँ सबै सैन्य लक्ष्य नष्ट भए वा नभएको स्पष्ट गरिएको छैन । इरानको तटनजिक रहेको करिब पाँच माइल लामो खार्ग टापुबाट देशको करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुन्छ ।
इरानसँगको युद्ध सुरु भएको पहिलो दुई हप्तासम्म यो क्षेत्रमा आक्रमण भएको थिएन । सैन्य विज्ञहरूका अनुसार खार्ग टापु कब्जा गर्न वा ठुलो स्थलगत आक्रमण गर्न ठुलो सङ्ख्यामा स्थल सेना आवश्यक पर्छ। तर ट्रम्प प्रशासनले हालसम्म त्यस्तो कदम चाल्ने सङ्केत देखाएको छैन।
पूर्व अमेरिकी सेना ब्रिगेडियर जनरलका अनुसार यस्तो आक्रमणले युद्धको जोखिम अझ बढाएको छ। उनका अनुसार अहिलेको अवस्थाले युद्ध केवल सैन्य शिविरमा सीमित नरही इरानको आर्थिक आधारलाई नै लक्षित गर्ने चरणमा प्रवेश गरेको सङ्केत गर्छ।
उनले अमेरिकाले खार्ग टापुलाई दबाबको साधनका रूपमा प्रयोग गरेर इरानलाई हर्मुज जलडमरु हुँदै जहाज आवागमन खुला राख्न बाध्य पार्न खोजिरहेको बताए। यदि तेल पूर्वाधारमाथि थप आक्रमण भयो भने इरानले पश्चिम एसियाका अन्य तेल संरचनामाथि पनि प्रतिआक्रमण गर्न सक्ने चेतावनी उनले दिएका छन्।
यसअघि इरानी ससदका सभामुख मोहम्मद बाकर कालिबाफले पर्सियन खाडीका इरानी टापुहरूमा अमेरिकी आक्रमण भएमा इरानले सबै संयमता त्यागेर कडा प्रतिक्रिया दिने चेतावनी दिएका थिए।
इरानको करिब ९० कच्चा तेल निर्यात यहीँबाट हुन्छ ।
पर्सियन खाडी क्षेत्रको रणनीतिक ऊर्जा केन्द्र मानिन्छ । यहाँ ठुलो क्षति भए विश्व तेल बजारमा प्रभाव पर्न सक्छ ।