×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

९ बैशाख २०८३

९ वैशाख , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविराम अवधि थप गर्ने घोषणा गरेका छन् । इरानले वार्ताका आउन अस्वीकार गरेपछि ट्रम्पले अमेरिकी सैन्य कारबाही केही समयका लागि स्थगित गरिने बताए पनि इरानका बन्दरगाहमाथिको नाकाबन्दी भने यथावत् रहने स्पष्ट पारेका छन् ।

Advertisement
Advertisement

मंगलबार गरिएको यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेनाप्रमुख असिम मुनिरको अनुरोधमा गरिएको बताइएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको उल्लेख गरेका छन् ।

उनले भने, ‘पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको अनुरोधमा, हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउन सक्दैनन् ।’

उनले लेखेका छन्, ‘त्यसैले, मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी र सक्षम अवस्थामा रहन निर्देशन दिएको छु। इरानले प्रस्ताव पेस गरी छलफल कुनै न कुनै रूपमा टुङ्गोमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

युद्धविराम बुधबार समाप्त हुने तय थियो, तर अब इरानले प्रस्ताव पेस गरी वार्ता टुंगो नलागेसम्म अवधि खुला राखिएको संकेत गरिएको छ । इरानले तुरुन्त प्रतिक्रिया नदिए पनि पछि आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । यसअघि इरानले अमेरिकी नाकाबन्दीलाई युद्धको कदम भन्दै कडा आलोचना गरेको थियो ।

यस निर्णयअघि ट्रम्पले युद्धविराम नलम्ब्याउने चेतावनी दिएका थिए, तर पछि अचानक धारणा परिवर्तन गरेका हुन् । ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दाबी गरेका छन् । उनले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी दिएका थिए ।

सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भने, “मलाई लाग्छ हामीबिच धेरै राम्रो सम्झौता हुनेछ। उनले भने, “संयुक्त राज्य अमेरिका वार्ता गर्न राम्रो स्थितिमा छ । हामी ‘स्ट्रेट अफ हर्मुज’ लाई नियन्त्रण गर्ने अवस्थामा छौँ ।” इरानको संसद्का सभामुख बघर गालिबाफले विगत दुई हप्तादेखि इरानले युद्धको मैदानमा नयाँ कार्ड देखाउने तयारी गरिरहेको बताएका छन् ।

उनले इरानले ‘चेतावनीको छायामा रहेर वार्ता स्वीकार नगर्ने’ पनि बताएका छन् । अमेरिकाले युद्धविराम लम्ब्याउँछ कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “म त्यसो गर्न चाहन्नँ ।” उनले इरानको पनि एउटै बाटो वार्ताको विकल्प नरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गरिएको नौसैनिक नाकाबन्दीलाई युद्धमा ‘ठुलो सफलता’ भनेका छन् ।

वार्तामा केही प्रगति भएको नदेखिए युद्धविरामको प्रक्रिया अघि बढाउनुहुन्छ भनी सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “म त्यसो गर्न चाहन्नँ ।” भनेका थिए । ट्रम्पले भनेका थिए , “मलाई लाग्छ, इरानसँगको वार्तामा कुनै प्रगति सम्भावना नदेखिए यसको विकल्प ‘व्यापक आक्रमण’ हुनेछ । त्यो धेरै राम्रो तरिका हुनेछ।”

ट्रम्पको यो अभिब्यक्तिपछि इरानको रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बद्ध फार्स न्यूज एजेन्सीले टेलिग्राममा इरानको सबैभन्दा ठुलो सैन्य मुख्यालयका कमान्डरको बयान साझा गरेको थियो । फार्सका अनुसार मेजर जनरल अब्दुल्लाहीले फारसी भाषामा लेखेका छन्, “आईआरजीसीले इजरायल र संयुक्त राज्य अमेरिकालाई झुक्न पारेको छ, उनीहरूलाई युद्धविराम माग गर्न बाध्य पारेको छ।”

उनले भनेका थिए , “विशेष गरी स्ट्रेट अफ हर्मुजको मुद्दामा सशस्त्र बलले अमेरिकी राष्ट्रपतिलाई जमिनको अवस्थाको बारेमा झुटो र गलत कथा सिर्जना गर्न अनुमति दिँदैन।” बीबीसीका अनुसार इरानभित्र राजनीतिक तनाव छ, जहाँ कट्टरपन्थीहरूले वार्ताकारहरूलाई कूटनीतिको सट्टा टकराबको बाटो रोज्न दबाब दिइरहेका छन् ।

उता इरानले नाकाबन्दी हटाउनुपर्ने माग राख्दै वार्तामा सहभागी हुनेबारे अनिश्चितता देखाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले देश आफ्नो हित जोगाउन सक्षम रहेको बताएका छन् । यता, ट्रम्पले इरानी नेतृत्वमा मतभेद रहेको दाबी गरे पनि विश्लेषकहरूले त्यसलाई गलत बुझाइ भएको बताएका छन् ।

यसअघि ८ अप्रिलमा दुई साताको युद्धविराम भएको थियो, तर आणविक कार्यक्रम, स्ट्रेट अफ होर्मुज र क्षेत्रीय सहयोगी समूहहरूको मुद्दामा विवाद जारी रहेकाले तनाव कायम छ ।अर्काेतर्फ अमेरिकाले इरानमाथि आर्थिक दबाब कायम राख्ने क्रममा १४ व्यक्ति, संस्था र विमानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने घोषणा गर्नुअघि नै यो कदम चालिएको बीबीसीले जनाएको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको अफिस अफ फरिजन एसेट्स कन्ट्रोल (ओएफएसी)ले इरान, टर्की र यूएईमा आधारित ती समूहहरूलाई इरानका लागि हतियार वा हतियारका पार्टपुर्जा खरिद तथा ढुवानीमा संलग्न भएको आरोपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

यस प्रतिबन्धअनुसार ती संस्था वा व्यक्तिको अमेरिकामा रहेको सम्पत्ति जफत गरिनेछ भने अमेरिकी नागरिक वा अमेरिकाभित्र रहेका अन्य व्यक्तिहरूलाई उनीहरूसँग कुनै पनि आर्थिक कारोबार गर्न निषेध गरिएको छ । अमेरिकाका अनुसार यी समूहहरूले इरानलाई ड्रोन र ब्यालिस्टिक मिसाइल निर्माण क्षमता पुनस्र्थापना गर्न सहयोग गरेका थिए, जुन हालै अमेरिकी र इजरायली आक्रमणपछि कमजोर भएको थियो ।

यसै बीच ट्रम्पले इरानको जेलमा रहेका आठ जना इरानी महिलाको रिहाइको माग गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा ती महिलाका तस्वीरसहित पोस्ट साझा गर्दै दाबी गरेका छन् कि इरानमा उनीहरूलाई छिट्टै मृत्युदण्ड दिने तयारी भइरहेको छ र विश्व चुपचाप हेरिरहेको छ।

ट्रम्पले लेखेका छन् कि उनी इरानी नेताहरूसँग अनुरोध गर्न चाहन्छन् कि ती महिलालाई कुनै क्षति नपु¥याइयोस् र उनीहरूको रिहाइ गरियोस्। उनका अनुसार यदि इरानले यस्तो कदम चाल्यो भने अमेरिका–इरान वार्ताको उत्कृष्ट सुरुवात हुन सक्छ।

ट्रम्पले थप लेख्दै भनेका छन्, “यदि इरानले यी महिलालाई रिहा गर्छ भने म अत्यन्त आभारी हुनेछु। मलाई विश्वास छ, उनीहरू यस्तो निर्णय लिनेछन् र महिलाहरूले पनि यसको सम्मान गर्नेछन्। कृपया उनीहरूलाई कुनै क्षति नपु¥याउनुहोस्।”

तर बीबीसीका अनुसार इरानका महान्यायाधिवक्ताले यी आठ महिलालाई मृत्युदण्ड दिइने खबरलाई अस्वीकार गरेका छन्। यो विषय अयाल याकोबी नामका व्यक्तिको सामाजिक सञ्जाल पोस्टपछि भाइरल भएको हो। याकोबीले आफू पेनसिल्भेनिया विश्वविद्यालयको स्नातक र मिटको विद्यार्थी भएको दाबी गरेका छन्।

उनको पोस्टमा दाबी गरिएको छ कि इस्लामिक गणतन्त्र इरानले जनवरीमा भएका प्रदर्शनसँग सम्बन्धित आरोपमा आठ महिलालाई मृत्युदण्ड दिने तयारी गरिरहेको छ, तर अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार संगठनहरू मौन छन्। यस दाबीको कुनै स्वतन्त्र पुष्टि भने भएको छैन।

उक्त पोस्टमा देखाइएका महिलाहरूमा बीता हेम्मती, गजल गलन्दरी, गोलनाज नराघी, विनस हुसेन नेजाद, पनाह मोवाहेदी, एन्सियेह नेजाती, महबूबेह शबानी र डायना ताहेर आबादी रहेका छन्। हेम्मतीमाथि प्रदर्शनका क्रममा विद्रोह उक्साएको आरोप छ भने हुसेन नेजादलाई विरोध प्रदर्शनमा सहभागी भएको आरोप लागेको बताइएको छ।

Advertisement

गोलनाज नराघी तेहरानको अस्पतालमा कार्यरत ३७ वर्षीया आपतकालीन चिकित्सक हुन्, जो जनवरीदेखि जेलमा छन्। शबानीलाई फेब्रुअरीमा पक्राउ गरिएको थियो। यी सबै गिरफ्तारीहरू जनवरीका विरोध प्रदर्शनसँग सम्बन्धित रहेको दाबी गरिएको छ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top