९ वैशाख , काठमाण्डौ।
अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण आज सम्पन्न भएको छ । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
भारतीय मुलका कपुर ७ वैशाखमा काठमाडौं आएका थिए । बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् । नेपाल बसाइँको क्रममा उनले सत्तारुढ रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने, लगानी प्रवद्र्धन गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा विचार आदान–प्रदान भएको थियो । सहायक सचिव कपुरले अमेरिकामा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे छलफल गरेका थिए ।
साथै, उनले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिसँग पनि छलफल गर्दै नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने प्रयास गरेका थिए । भ्रमणका क्रममा उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन पनि गरेका छन् । उनले बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए ।
यी सम्पदाहरू संरक्षण गर्न अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत सहयोग गर्दै आएको छ । कपुर आज अमेरिका फर्कदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
यद्यपि उनले भेटको तालिका नभएकै कारण बालेनसँग भने भेट गरेनन् । यसअघि बंगलादेश भ्रमणका क्रममा पनि कपुरले त्याहाका प्रधानमन्त्रीसँग भेट गरेका थिएनन् । नेपालको कूटनीतिमा भारतको प्रभाव रहँदै आएको थियो । र कुनै पनि सरकार गठन हुँदा भारतको तर्फबाट सरकारलाई बधाई दिन उच्चस्तरीय भ्रमण हुन्थ्यो, यसपटक पनि त्यस्तै भ्रमण गराउने योजना भारतको थियो, तर त्यो बाजी अमेरिकाले मारेको हो ।
हुनत परराष्ट्रमन्त्री खनाल चैत २७ गते मरिसस गएका बेला भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट भएको थियो । सो भेटमा विदेशमन्त्री जयशंकरले चाँडै विदेश सचिवलाई नेपाल भ्रमणमा पठाउने बताएका थिए । सचिवस्तरीय भ्रमण गराएपछि प्रधानमन्त्री बालेनलाई भारत भ्रमण गराउने तयारी भारतको थियो । तर त्यसअघि नै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भयो ।
भारतीय मामिलाका एक जानकार भन्छन्, ‘कपुरको भ्रमणलाई भारतले मसिनो तरिकाले अध्ययन गरिरहेको छ । यो भ्रमणको परिणामपछि मात्र नेपालमा आफ्नो मान्छे पठाउँछ ।’ विदेश मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले काठमाडौँमा कपुरले दिने अभिव्यक्तिलाई नयाँ दिल्लीले ध्यानपूर्वक सुन्नुपर्ने सुझाव दिएका छन् ।
कपुर नेपाल आएकै दिन प्राध्यापक मुनीले आफ्नो ‘एक्स’ मार्फत सुझाव दिएका हुन् । कपुरले अमेरिकी संसद् (कांग्रेस) को अन्तर्राष्ट्रिय समितिमा दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै भनेका छन्, ‘अमेरिका, चीन वा अन्य कुनै देशले नेपालमा प्रभुत्व जमाउन चाहँदैन ।’ ‘अन्य कुनै देश’ भन्नाले कपुरले भारतलाई संकेत गरेको मुनीको बुझाइ हो ।
शीतयुद्धको सुरुवातमा अमेरिकाले पनि भारतलाई नेपालमा नियन्त्रण गर्ने प्रयास गरेको मुनीले उल्लेख गरेका छन् । नेपाल–भारत मामिलाका जानकार एवं ‘इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस’का रिसर्च डा. निहार नायकले कपुरको नेपाल भ्रमणले भारतलाई केही फरक नपर्ने बताएका छन् ।
उनले भने, ‘नेपाल–भारतको सम्बन्ध आफ्नै खालको छ । कपुरको भ्रमणले केही फरक पार्दैन, तर अमेरिकाले नेपालमा केही गर्न खोजेको यो भ्रमणको संकेत हो ।’ अमेरिकाले नेपालमा आफ्नो प्रभाव विस्तार गरिरहेको बताउँदै उनले यसमा भारतले चिन्ता गर्नुपर्ने कुनै विषय नरहेको बताए ।
गत फेब्रुअरी ११ मा बसेको अमेरिकी संसद्को अन्तर्राष्ट्रिय उपसमितिको बैठकमा कपुरले अरू भनेका थिए, ‘भारतमा एक अर्बभन्दा बढी मानिस छन् र यसले उपमहाद्वीपीय भू–भाग ओगटेको छ । दक्षिण एसियामा प्रभुत्व जमाउने कुनै पनि शत्रुतापूर्ण शक्तिले विश्व अर्थतन्त्रमाथि दबाब सिर्जना गर्न सक्छ । संयुक्त राज्य अमेरिकाले यस्तो हुनबाट रोक्नुपर्छ र यस क्षेत्रलाई स्वतन्त्र र खुला राख्नुपर्छ । ’
त्यतिबेला आफ्नो अभिव्यक्तिमा कपुरले थप भनेका थिए, ‘गत हप्ता मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले एक ऐतिहासिक व्यापार ढाँचामा सहमति गरेका छन् र दुई दिनअघि ट्रम्प प्रशासनले बङ्गलादेशसँग एक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ, जसले अमेरिकी निर्यातकर्ताहरूलाई १७ करोड ५० लाख मानिसहरूको बङ्गलादेशको बजारमा पहुँच प्रदान गरेको छ ।तर व्यापारभन्दा बाहिर, ट्रम्प प्रशासनले प्रयोग गरिरहेको तीन रणनीतिक क्षमताहरू – रक्षा सहयोग, लक्षित लगानी र कूटनीति रहेका छन् ।’
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँग गरेको व्यापार समझदारीपछि अब अन्य साझा प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उनले उल्लेख गरेका छन् । विश्वका ठूला अर्थतन्त्रहरूमध्ये एक भारतसँग व्यापारमा रहेका अवरोधहरू कम गर्दै र अझ बढी पूर्ण सहयोगका लागि बाटो खोल्नुपर्ने उनले बताएका छन् ।
उनले यस क्षेत्रको अर्को महत्त्वपूर्ण साझेदार देश पाकिस्तान रहेको बताउँदै आफूहरू पाकिस्तानसँग मिलेर काम गरिरहेको, जसले महत्त्वपूर्ण खनिज स्रोतहरूको सम्भावनालाई साकार पार्न सहयोग पुगोस् भन्ने धारणा राखेका थिए । अमेरिकाले दिइरहेको आतंकवाद विरोधी सहयोगले पाकिस्तानलाई आन्तरिक सुरक्षा चुनौतीहरूको सामना गर्न सहयोग पुग्ने विश्वास त्यहाँ व्यक्त गरेका थिए ।
पूर्वराजदूत विजयकान्त कर्ण कपुरको यो नियमित भ्रमण भएको र चुनाव नभएको भए फेब्रुअरी–मार्चतिर नै उनी आउने बताउँछन् । ‘नेपालमा चुनाव भएकाले अलि ढिलो भएको हो,’ उनले भने ।’ दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने कपुरले गरेको नेपाल भ्रमणका कारण भारतलाई कुनै फरक नपर्ने उनको पनि भनाइ छ ।
‘तिब्बतका कारण चीनलाई केही फरक पर्न सक्छ, तर भारतलाई कुनै फरक पर्दैन,’ उनी थप्छन्, ‘कपुर एक महिनाअघि भारतको भ्रमण गरेर नेपाल आएका हुन् । भारत र अमेरिकाको राम्रो सम्बन्ध छ, नेपालमा दुवै देशका कुरा मिलेको छ ।’ तर, ‘नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोपरेशन एन्ड इन्गेजमेन्ट’का रिसर्च डाइरेक्टर प्रमोद जयसवाल भने अमेरिकाले नेपालमा आफ्नो प्रभाव जमाउन सफल भए सबैभन्दा बढी असर भारतलाई पर्ने बताउँछन्, त्यसपछि चीनलाई ।
‘अमेरिकाले नेपालमा आफ्नो प्रभाव जमाउन खोजेको कुरा यो भ्रमणको संकेत हो,’ उनले भने, ‘सरकार गठन हुनेबित्तिकै यस्ता उच्चस्तरीय भ्रमण अमेरिकाबाट भएका थिएनन्, भारत वा चीनबाट हुन्थे, तर यसपालि टाढाको छिमेकीले भ्रमण गरेको छ, यसले ठुलो संकेत गरेको छ ।’
गत फागुन १७ देखि १९ गतेसम्म कपुरले भारतको पनि भ्रमण गरेका थिए । त्यसपछि उनले बङ्गलादेशको भ्रमण गरेर नेपाल आएका हुन् । यसलाई भारतले रणनीतिक रूपमा लिएको बताइएको छ ।


