१३ वैशाख , काठमाण्डौ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रात्री भोजलाई लक्षित गर्दै गोलीकाण्ड मच्चाउने संदिग्ध ब्यक्ति पक्राउ परेका छन् । अमेरिकाको वासिङटन हिल्टनमा शनिबार राति आयोजित वार्षिक ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’का क्रममा सुरक्षा चेकपोइन्टमा आक्रमणपछि ३१ वर्षीय कोल थोमस एलेन पक्राउ परेका हुन् ।
उनी क्यालिफोर्नियाको टोरेन्स निवासी हुन् । उनी पेसाले शिक्षक रहेका बताइएको छ । उनले सन् २०२४ मा ‘टिचर अफ द मन्थ’ अवार्ड समेत जितेका थिए । उनले सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेका थिए । वासिङटन महानगरीय प्रहरीका अन्तरिम प्रमुख जेफ्री क्यारोलले पत्रकार सम्मेलनमार्फत संदिग्धबारे प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारी सोही होटेलमा पाहुनाका रूपमा बसेका व्यक्ति भएको पुष्टि भएको छ । प्रहरीले उनले लिएको कोठा नियन्त्रणमा लिएर सिल गरेको छ । कानुनी प्रक्रिया पूरा गरी त्यहाँबाट सम्भावित प्रमाण, हतियार वा योजनासम्बन्धी कागजात फेला पार्ने उद्देश्यले सुक्ष्म खानतलासी गरिरहेको सीएनएनले जनाएको छ ।
अधिकारीहरूका अनुसार, एलेनसँग एकभन्दा बढी घातक हतियारहरू थिए । उनले सटगन, ह्यान्डगन तथा कैयौँ चक्कु बोकेका थिए र मुख्य ‘म्याग्नेटोमिटर’ (धातु पहिचान गर्ने उपकरण) नजिकै सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए । प्रहरीले यस घटनालाई एकल आक्रमणका रूपमा अनुसन्धान गरिरहेको छ ।
संदिग्धको कोठाबाट प्राप्त हुने प्रमाणहरूले उनको उद्देश्य र सम्भावित ठूलो षड्यन्त्रसँग सम्बन्ध थियो कि थिएन भन्ने कुरा स्पष्ट पार्ने जनाइएको छ । हाल उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार, बन्दुकधारीले नजिकैबाट अन्धाधुन्ध गोली चलाउन थालेपछि पाहुनाहरू टेबलमुनि लुकेका थिए ।
युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एक एजेन्टलाई निकै नजिकबाट गोली लागेको थियो, तर उनले लगाएको बुलेट–प्रुफ ज्याकेटका कारण ज्यान जोगिएको बताइएको छ । उनी हाल उपचाररत छन् र खतरामुक्त रहेको जनाइएको छ । वासिङटन डीसीका लागि अमेरिकी महान्यायाधिवक्ता ज्यानिने पिरोका अनुसार, संदिग्धविरुद्ध दुईवटा मुख्य मुद्दा हिंसात्मक अपराधका क्रममा आग्नेयास्त्र प्रयोग गरेको तथा खतरनाक हतियार प्रयोग गरी संघीय अधिकारीमाथि आक्रमण गरेको आरोपमा दायर गरिने तयारी छ ।
घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दै सुरक्षा निकायको बहादुरीको प्रशंसा गरेका छन् । उनले भने, “ती व्यक्ति अत्यन्तै अस्वस्थ मानसिकताका थिए । सेक्रेट सर्भिसले अत्यन्त साहसी र प्रशंसनीय काम गरेको छ ।” यस्तै ट्रम्पले गोलीकान्डबारे थप स्पष्ट पार्न र पारदर्शिता कायम गर्न भन्दै हिरासतमा रहेका शंकास्पद व्यक्तिको तस्बिर तथा घटनास्थलको सुरक्षा क्यामेरा फुटेज सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत संदिग्ध व्यक्तिको तस्बिर पोस्ट गरेका छन् भने प्रारम्भिक क्षणको फुटेज पनि सार्वजनिक गरेका छन्, जसमा गोली चल्न थालेको दृश्य कैद भएको देखिन्छ । यसैबीच, ट्रम्पले एफबीआई निर्देशक र गृहमन्त्रीसँगै उभिएर सम्बोधन गरेका छन् । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उनले सुरक्षा निकायका प्रमुखहरूसँग ऐक्यबद्धता प्रदर्शन गरेका छन् ।
ट्रम्पले आक्रमणकारीको गतिविधि र सुरक्षा निकायको प्रतिक्रियाबारे थप विवरण दिएका छन् । उनका अनुसार एक व्यक्ति विभिन्न हतियारसहित सुरक्षा चेकपोइन्टतर्फ अघि बढेका थिए । ती सशस्त्र व्यक्तिलाई सेक्रेट सर्भिसका सदस्यहरूले तत्काल नियन्त्रणमा लिएका थिए ।
चेकपोइन्टमै उनलाई निस्तेज पारिएकाले उनी मुख्य समारोह स्थलसम्म पुग्न सकेनन्, जसका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ । आक्रमणमा घाइते भएका सुरक्षाकर्मीले लगाएको बुलेटप्रुफ ज्याकेटका कारण ज्यान जोगिएको ट्रम्पले बताएका छन् ।
उनले भने, “मैले भर्खरै ती अधिकारीसँग कुरा गरेँ, उनी अहिले निकै राम्रो अवस्थामा छन् ।” ट्रम्पका अनुसार ती सुरक्षाकर्मीको मनोबल उच्च रहेको छ । उनले भने, “हामी तिमीलाई माया गर्छौँ र तिम्रो बहादुरीको सम्मान गर्छौँ ।”ट्रम्पले हिरासतमा रहेका शंकास्पद आक्रमणकारीलाई ‘अत्यन्तै बिरामी व्यक्ति’ को संज्ञा दिएका छन् ।
उनले यस्ता हिंसात्मक घटनाहरू अस्वीकार्य रहेको बताएका छन् । ट्रम्पले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएशनलाई धन्यवाद दिँदै अभिव्यक्ति स्वतन्त्रता र संविधानप्रति केन्द्रित कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरेका छन् । स्थगित गरिएको कार्यक्रम ३० दिनभित्र पुनः आयोजना गरिने र अझ भव्य बनाइने उनले बताएका छन् ।
सामान्यतया सञ्चारमाध्यमप्रति आलोचनात्मक रहने ट्रम्पले यसपटक भने मिडियाको भूमिकाको प्रशंसा गरेका छन् । उनले घटनाको कभरेजमा मिडियाले जिम्मेवार भूमिका निर्वाह गरेको बताएका छन् । यसैबीच, अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध छिट्टै मुद्दा दायर गरिने जानकारी दिएका छन् । उनका अनुसार दोषीमाथि लगाइने आरोपहरू स्पष्ट र गम्भीर हुनेछन् ।


