काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री फेर्ने विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना गरिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले ‘मुख्यमन्त्रीको मामला गिजोलेर के पौरख गर्न खोजेको हो?’ भन्दै पार्टीभित्र अनावश्यक विवाद नगर्न आग्रह गरेका हुन्।
उनले मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आए उचित कारण र तर्कसहित पार्टीको केन्द्रीय निकायबाट निर्णय हुनुपर्ने बताएका छन्। प्रदेश कमिटी र संसदीय दलमा छलफल गरेर निकास निकाल्नुपर्ने अवस्थामा बल प्रयोग गरिएको उनको आरोप छ।
‘तर्कसहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेश कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिँडेको होला?’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो?’

उनले माथिल्ला कमिटीमा छलफल भएको भए आफूले पनि समझदारी राख्ने बताउँदै पार्टीभित्र अपारदर्शी ढंगले काम अघि बढाइएको आरोप लगाए। भट्टराईले पार्टीभित्र फरक–फरक मापदण्ड अपनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।



