विराटनगर, भदौ ५
इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले एक नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार ६ गते विदाको घोषणा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक विदाको घोषणा गरेको थियो । तर संघीय सरकारले विदा नदिएको र आफूहरु संघीय सरकारको मातहतमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरुले विदाको पालना गरेका थिएनन् ।
केहीदिन अघि मात्र बकर इदका अबसरमा सर्बजनिक विदा दिन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङले मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको थियो ।