फिफा फुटसल विश्वकपको उपाधि ब्राजिललाई

फिफा फुटसल विश्वकपको उपाधि ब्राजिललाई

२१ असोज , एजेन्सी ।

ब्राजिलले सर्वाधिक छैटौं पटक फिफा फुटसल विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनालाई २–१ गोलले हराउँदै ब्राजिलले विश्वकप जितेको हो ।

फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्दै आएको फुटसल विश्वपकको उपाधि ब्राजिलले जितेको यो छैटौं पटक हो । यसअघि ब्राजिलले पहिलो, दोस्रो र तेस्रो गरी लगातार तीन संस्करण उपाधि हत्याएको थियो ।

त्यसबाहेक सन् २००८ र २०१२ मा पनि ब्राजिलले फुटसलतर्फ विश्व च्याम्पियन बन्न सफल भएको थियो ।हरेक चार–चार वर्षमा हुने फुटसल विश्वकपअन्तर्गत एक पटक सन् २०१६ को च्याम्पियन अर्जेन्टिना भने फाइनलमा स्तब्ध बनेको यो दोस्रो पटक हो ।

यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिना पोर्चुगलसँग पराजित भएर च्याम्पियन बन्नबाट चुकेको थियो । जारी संस्करणको फाइनलमा ऊ सर्वाधिक धेरै पटकको विजेता ब्राजिलसँग पराजित भयो ।

गए राति उज्वेकिस्तानको तासकेन्टमा भएको उपाधि भिडन्तमा ब्राजिललाई जिताउन फेराओ र राफेलले एक–एक गोल गरेका थिए । अर्जेन्टिनाका लागि माटिआस रोसाले गरेको गोल भने सान्त्वना बन्यो ।

यसअघि ब्राजिल युक्रेनलाई हराउँदै उपाधिनजिक पुगेको थियो भने अर्जेन्टिना फ्रान्समाथि जित दर्ता गर्दै अन्तिम दुईमा प्रवेश गरेको थियो । तेस्रो स्थानका लागि भएको भिडन्तमा भने युक्रेनले बाजी मार्दा फ्रान्स चौथो स्थानमा सीमित बन्यो

सन् १९८९ देखि फिफा विश्वकप फुटसल हुँदै आएको छ । सन् २०१२ यता २४ वटा टोलीलाई विभिन्न ६ समूहमा बाँडेर राउन्ड रोबिन फर्म्याटमा फुटसल विश्वकप हुँदै आएको छ।

नेपालले पनि फुटसल विश्वकपका लागि छनोट खेल खेले पनि पार लगाउन सकेको छैन । तथापि, उसले एसियाली फुटसल प्रतियोगितामा भने सहभागिता जनाउँदै आएको छ । नेपाल फिफाको फुटसल वरीयताको १२७ औं स्थानमा छ ।

वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने शीर्ष १० भित्र क्रमशः पोर्चुगल , स्पेन, अर्जेन्टिना, रुस काजकिस्तान, इरान, मोरक्को, युक्रेन र फ्रान्स रहेका छन् । वरीयताको अन्तिम सूचीमा १३९ औं स्थानमा टोंगा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.