१९ कार्तिक , काठमाण्डौ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुँदै छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजे एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो ।
गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ ।
यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् ।
उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने जनार्दनसहित एमालेका पूर्वउपाध्यक्ष भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा आउन आह्वान गरिरहेका छन् ।
वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला झलनाथ खनालले भने केपी ओली र प्रचण्ड दुवैसंग संवाद सुरु गरेका छन् । अहिले केहीबेरमा प्रचण्ड र खनालबीच भेटवार्ता हुँदैछ।हिजो बेलुका भने उनले एमालेका अध्यक्षसँग भेटवार्ता गरेका थिए ।
भेटमा वाम एकताको कुरा गर्ने खनालले बताएका छन् । ‘वाम दलहरु एकताबद्ध हुनैपर्छ । त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु,’ खनालले भने । गुण्डुमा भएको वार्तामा खनालसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा भएको भनिएको छ ।
माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट छन् । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई हिजो ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।
‘केपी ओलीको टीमकै सदस्यहरू लिन आउनु भएको थियो । वार्ता गर्न भनेर लिनै आएपछि गुन्डु जानुभएको हो,’ खनाल निकट एक नेताले भने, ‘कुराकानी सकारात्मक छ भन्ने बुझिएको छ ।’ खनालले एमाले फर्कन चार शर्त राखेका छन् ।
उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् । माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।
यसबीच महेश बस्नेतले रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्ने दाबी गरेका छन् । उनका अनुसार झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन् ।
यता सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिएका छन् । उनले अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन् ।यसअघि महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमै एमाले फर्कने भए पार्टीको नीति र नेतृत्व स्वीकार गर्नुपर्ने र प्रश्न उठाउन नपाइने बताएका थिए ।
योगेश भट्टराईले आफ्नो अभिव्यक्ति त्यतै लक्षित गरेका हुन् । ‘नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय नै होइन। जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो। प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो,’ उनले भनेका छन्।
पार्टीको ११ औं महाधिवेशनको मिति घोषित रहेको बताउँदै महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको उनले बताएका छन्।
यता माओवादीका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने बताउँदै आएका छन् ।
तर, एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७)मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।
यता, घनश्याम भुसाल पक्षले पुनर्गठनको लागि पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।









