१० वैशाख , काठमाण्डौ।
अमेरिका इरानसंग युद्ध लडिरहेको छ । तर युद्धकैबीच उसले आफ्नै उच्च सैन्य अधिकारीहरुलाई पदबाट निकालिरहेको छ । पछिल्लो पटक अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन फेलेनलाई पदबाट हटाएको छ । अर्काेतर्फ इरान युद्धमा ट्रम्पको असिमित शक्ति घटाउने गरी ल्याइएको विधेय पाँचौ पटक संसदबाट अस्वीकृत भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पछिल्लो समय उच्च सैन्य अधिकारीहरू हटाइने क्रममा फेलेन नयाँ सिकार बनेका हुन् । पेन्टागनका प्रवक्ता सीन पार्नेलले फेलेनको स्थानमा अब उपसचिव हङ काओले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन् ।
इरानसँगको तनाव र हर्मोज जलसन्धिमा जारी नौसैनिक नाकाबन्दीका बीच यो महत्त्वपूर्ण फेरबदल भएको हो । रक्षा सचिव पिट हेगसेथले कार्यभार सम्हालेयता एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरिसकेका छन्। व्यावसायिक पृष्ठभूमि भएका र ट्रम्पका ठूला चन्दादातासमेत रहेका फेलेनलाई सन् २०२५ मार्चमा नौसेना सचिव नियुक्त गरिएको थियो ।
ट्रम्पको महत्वाकांक्षी परियोजना ‘गोल्डेन फ्लिट’ निर्माणमा सोचेजस्तो प्रगति नभएका कारण फेलेनलाई हटाइएको विश्लेषण गरिएको छ । नवनियुक्त कार्यवाहक सचिव हङ काओ २५ वर्ष नौसेनामा बिताएका अनुभवी कमान्डर हुन् । सन् २०२४ को सिनेट चुनावमा भर्जिनियाबाट उम्मेदवार बनेका काओ ट्रम्पका कट्टर समर्थक मानिन्छन् ।
यता फेलन हालैका महिनाहरूमा प्रशासन छोड्ने पछिल्लो उच्चपदस्थ सैन्य नेता हुन् । उनको बहिर्गमन इरानसँगको अमेरिका–इजरायल युद्ध र होर्मुज जलसन्धिको निरन्तर अमेरिकी नाकाबन्दीको बीचमा भएको हो । “युद्ध सचिव र उप–युद्ध सचिवको तर्फबाट, हामी विभाग र संयुक्त राज्य अमेरिकाको जलसेनाप्रति फेलनले पु¥याउनुभएको सेवाका लागि कृतज्ञ छौँ,” पार्नेलले लेखेका छन्, “हामी उहाँको भविष्यका प्रयासहरूको लागि शुभकामना व्यक्त गर्दछौँ ।”
जलसेनाले फेलनको बहिर्गमनको कुनै विशेष कारण भने खुलाएको छैन । यो राजीनामा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेनाका प्रमुख र्यान्डी जर्जलाई पदबाट हट्न आग्रह गरेको केही हप्तापछि आएको हो । हालै अन्य दुई सैन्य अधिकारीहरू, जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीनलाई पनि उनीहरूको भूमिकाबाट हटाइएको छ ।
पेन्टागनमा प्रवेश गरेदेखि हेगसेथले ‘चिफ अफ नेभल अपरेसन’ र वायुसेनाका ‘भाइस–चिफ अफ स्टाफ’ सहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन् । यसअघि सेनामा सेवा नगरेका फेलनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा मनोनीत गरेपछि मार्च २०२५ मा जलसेना प्रमुखको रूपमा शपथ खुवाइएको थियो ।
उनको सट्टामा आएका काओ अक्टोबर २०२५ मा उपप्रमुख बनेका थिए । उनी २५ वर्ष जलसेनामा सेवा गरेका अनुभवी व्यक्ति हुन् । काओले सन् २०२४ मा भर्जिनियामा अमेरिकी सिनेटका लागि असफल चुनावी अभियान चलाएका थिए, जसमा उनलाई ट्रम्पको समर्थन थियो ।
जलसेनाको यो नेतृत्व परिवर्तन यस्तो समयमा भएको छ, जब ट्रम्पले युद्धविरामका बीच पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् । विश्वको धेरैजसो तेल आपूर्ति गर्ने महत्त्वपूर्ण विश्वव्यापी ढुवानी मार्ग होर्मुज जलमार्गमा झडपहरू जारी छन् । इरानले सो जलमार्गमा दुईवटा जहाजहरू कब्जा गरेको घोषणा गरेको छ ।
यसैबीच अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको सैन्य कारबाही गर्ने अधिकार सीमित पार्ने प्रस्तावलाई पुनः अस्वीकृत गरेको छ । योसँगै यस वर्ष पाँचौँ पटक सिनेटमा सो प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावले भविष्यमा इरानविरुद्ध कुनै पनि सैन्य कदम चाल्नुअघि ट्रम्पले कंग्रेसको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था गर्न खोजिएको थियो ।
मतदानमा प्रस्तावको पक्षमा ४६ र विपक्षमा ५१ मत खसेको थियो । डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्तावको विपक्षमा मतदान गरे भने रिपब्लिकन सिनेटर र्यान्ड पलले डेमोक्रेटतिर लागेर प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
सिनेटका अल्पसंख्यक नेता चक शमरले डेमोक्रेटहरूले गत हप्ता अब निकट भविष्यमा हरेक हप्ता युद्धसम्बन्धी तागत सीमित बनाउने विषयमा मतदान गराउने घोषणा गरेका छन् । थोमस टिलिस र लिजा मुर्कोवस्की जस्ता रिपब्लिकन सांसदहरूले इरान युद्ध ६० दिन पुगेपछि सैन्य कारबाही स्वीकृत गर्ने मतदानलाई समर्थन गर्न सक्ने सङ्केत दिएका छन् ।
साथै, यदि द्वन्द्व ९० दिनसम्म पनि जारी रहेमा यस्तो कदम चाल्ने सम्भावनालाई सिनेटमा रिपब्लिकन नेतृत्वले अस्वीकार गरेको छैन । तर, सिनेट बहुमतका नेता जोन थुनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हालका लागि यस्तो स्वीकृति मतदान हुने सम्भावना नरहेको बताएका थिए ।
इरानमाथिको नाकाबन्दी र युद्धविरामका बीच ट्रम्पले इरानमा आठ जना महिला प्रदर्शनकारीलाई दिइने भनिएको मृत्युदण्ड रोकिएको दाबी गरेका छन् । तर इरानले भने ती महिलालाई मृत्युदण्ड दिने कुनै योजना नै नभएको स्पष्ट पारेको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै भनेका छन्, ’धेरै राम्रो समाचार आएको छ ।
मलाई जानकारी दिइएको छ कि ती आठ महिला प्रदर्शनकारीलाई अब मारिने छैन । चार जनालाई तत्काल रिहा गरिनेछ र बाँकी चार जनालाई एक महिनासम्म जेलमा राखिनेछ ।’ उनले आफू अमेरिकी राष्ट्रपति भएका नाताले गरेको अपिललाई इरानी नेतृत्वले मानेको भन्दै प्रशंसा पनि गरेका छन् ।
यसअघि ट्रम्पले इरानी सरकारसँग ती महिलाको अवस्थाबारे प्रश्न उठाएका थिए र उनीहरूको रिहाइ ’हाम्रो संवादको राम्रो सुरुवात हुनेछ’ भनेर टिप्पणी गरेका थिए । जनवरीमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी ती महिलाहरूलाई इरानमा मृत्युदण्ड दिइने तयारी भइरहेको खबरहरू बाहिरिएका थिए ।
तर इरानी न्यायपालिकासँग सम्बन्धित मिजान समाचार एजेन्सीले भने ट्रम्प गलत सूचनाबाट प्रभावित भएको बताएको छ । एजेन्सीका अनुसार केही महिलाहरू पहिल्यै रिहा भइसकेका छन् भने बाँकीमाथि लागेको आरोपमा मृत्युदण्डको व्यवस्था छैन ।
युद्ध सुरु भएयता इरानले एक दर्जनभन्दा बढी व्यक्तिलाई फाँसी दिइसकेको छ । तीमध्ये केहीमाथि इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको थियो भने केही यस वर्षको सुरुवातमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी थिए ।


