सगरमाथाको बाटो बनाउँछन असी वर्षे शेर्पा

१८ चैत ७४, सोमबार

सल्लेरी, सोलुखुम्बु, १९ चैत ९ः ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने १६ वर्षे जवानीको जस्तै छ ।

Advertisement

आखाँ राम्रो नदेख्ने, कानसमेत सुन्न मुस्किल पर्छ, तर उनै वृद्ध बाटोमा बसेर चन्दा माग्छन् अनि बाटो बनाउने कार्यमा सक्रिय हुन्छन । पैदलयात्रीबाट चन्दा मागेर नै बाटो बनाउन थालेको अहिले ३३ वर्ष भयो । आफ्नो ज्यानसमेत थेग्न नसक्ने अवस्थाको भए पनि अझै बाटो बनाउने कार्यमा सक्रिय छन् । जिल्लाको माथिल्लो क्षेत्र खुम्बूको विकासमा शेर्पाको महत्वपूर्ण योगदान बनेको छ । एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिँड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै नथाकेका शेर्पाले सरकारलाई नै चुनौती दिएका छन् । उनको वास्तविक नाम पासाङ शेर्पा भए पनि (लामा सेरु)को नामले समेत चिनिन्छ ।

चन्दाबाट उनले दिङ्बोचेदेखि फुगिथेंकासम्मको करीब १४ किलोमिटर बाटो बनाइसकेको शेर्पाले बताए । उनले भने , “फेरिचेदेखि एभरेस्ट बेसक्याम्पसम्मको करीब पाँच किलोमिटर बाटो पनि बनाइसके, अहिले नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छु । यो बाटोको दूरी करीब २० किलोमिटर छ । अब यो बाटो सक्न धेरै बाँकी छैन”, उनले भने, “एकदुई किलोमिटर होला, ०७५ को वैशाखभित्र सक्ने तयारी छ ।”
“बुढेसकाल लागे पनि मेरो तन र अभियानले बुढेसकाल लाग्यो भन्दैन”, शेर्पाले भने, “एक मुट्ठी सास रहुन्जेल पनि म बाटो बनाउने कार्यमा नै हुन्छु ।” लुगाफाटा मैला लगाएका छन् । बाटोमा चन्दा बाकस राखेका छन् । बाटो हिँड्ने जोसुकैलाई सकेको सहयोग माग्ने उनको दैनिक काम नै हो । मागेर उनले अरूकै लागि काम गरिरहेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएरै बाटो बनाउन लागेका शेर्पाले केही वर्षयता भने दुई जना मान्छे राखेर काम गराउँछन् । उनीहरूले बाटो बनाउने काम गर्छन् र पारिश्रमिक लिन्छन् । दुई जनालाई दिने पारिश्रमीक पनि चन्दाबाट उठेको रकम नै हो ।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बर्षेनी हजारौँ पदयात्री र आरोही जान्छन् । सोही बाटो भएर जाने पर्यटक र गाइडको स्वेच्छिक सहयोगले बाटो बनाउने काम सफल भएको छ । शेर्पाले भने, “मेरो आफ्नो गुजारा पनि यही हो, काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट पुग्छ, मैले कुनै पनि रकम हिनामिना गर्दिन सबै बाटो बनाउनुमै खर्च गर्छु ।”
शेर्पाले अहिलेसम्म करीब २० किलोमिटर ट्याक्सी गुड्ने बाटो बनाइसकेका छन् भने १६ वटा चौतारासमेत निर्माण गरिसकेका छन् । “पर्यटक भरियाका लागि ठाउँठाउँमा बिसाउनका लागि चौतारा निर्माण गरेको छु”, शेर्पाले भने, “मैले पनि भारी बोकेर जाँदा बिसाउने ठाउँ कहाँ पाइन्छ भन्ने लाग्थ्यो, त्यही भोगाइले पनि सबैलाई सहज होस् भनेर चौतारा निर्माण गरेको हुँ ।” बाटो बनाउने, चौतारा निर्माण गर्ने मात्र नभई उनले धर्मकर्ममा समेत ध्यान दिएको पाइन्छ । सोही क्षेत्रमा करीब रु २५ लाख बराबरको लागतमा मानेसमेत निर्माण गरेको छु, शेर्पाले भने, “सरकारले हेर्नुपर्ने यस क्षेत्रमा कसैले पनि हेरेनन् अझै पनि हेर्लान् भन्नेमा मलाई शंका छ ।”

Advertisement

पर्यटन व्यवसायी तथा दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय विश्वकर्मा (मिघिरे) भन्छन् , “मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाइएको छ । उनीजस्तो बिकासप्रेमी वृद्धसँग हामीले शंका गर्नु आवश्यक छैन । ”
सगरमाथा आरोहण शुल्क नै करोडाँै संकलन हुन्छ । तर यस क्षेत्रको विकासका लागि राज्यको लगानी कुन हो भन्ने प्रश्न छ ।
वर्षमा दुई सिजनमा सगरमाथा आरोहण हुने गरेको छ । एक सिजनमा हजाराँैको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक खुम्बू जान्छन् । ट्रेकिङ गाइड चुडामणि केसीले भने, “खुम्बू क्षेत्रको बाटो बनाएर पर्यटन तथा सर्वोच्च शिखर जाने आरोहीलाई सहज बनाउने काम पासाङ शेर्पाले नै गरेको हो यसमा त्यसैले सरकारले उनको योगदानको कदर गर्नुपर्छ ।” ७९ वर्षीय पासाङ शेर्पाबाट राज्य र आम युवाले विभिन्न पाठ सिक्नुपर्ने आम पर्यटन व्यवसायीको भनाइ छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top