राप्ती उपत्यकामा जग्गा किनबेच तथा कित्ताकाट रोक्न मुख्यमन्त्रीको निर्देशन

राप्ती उपत्यकामा जग्गा किनबेच तथा कित्ताकाट रोक्न मुख्यमन्त्रीको निर्देशन

२२ असाेज, दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरणपछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले त्यस क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताए।

प्रदेश सरकारले यसअघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उनले निर्देशन दिए।

राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताए । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उनले आग्रह गरे । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइँदै जाने जानकारी दिए । उनले नक्साकाे डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताए । उनले भने, ‘अहिलेलाई हेरेर होइन, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी योजना गर्छौँ, योजनाका माध्यमबाट मान्छेको सोच बदल्छौँ ।’

राजधानी र नामको टुङ्गो सही ढङ्गले लगाएर सङ्घीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उनले उल्लेख गरे ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.