कोरोनाबाट प्रभावित किसानको हितमा योजना निर्माण भइरहेको छ : मन्त्री भुसाल

कोरोनाबाट प्रभावित किसानको हितमा योजना निर्माण भइरहेको छ : मन्त्री भुसाल

२५ असाेज, काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताएका छन्। मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उनले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाए ।

चालिसौँ विश्व खाद्य दिवसको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज राजधानीमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उनले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गरे। किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने उनको धारणा थियो ।

“उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ”, मन्त्री भुसालले भने, “कृषिले जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ, यसले कृषि पेशा सुनिश्चित हुँदैन ।” खाद्य दिवस मनाइरहँदा विश्वका धेरै मानिसहरू किन खाद्य सङ्कटको वरिपरी रहेका छन् भन्ने कुरा विर्सन नहुने मन्त्री भुसालको भनाइ थियो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ ।

“कृृषिमा ३० वर्षसम्म विदेशीको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो, कतै राम्रो पनि भएको छ तर धेरै जसो राम्रो भएको छैन”, मन्त्री भुषालले भने । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिनुपर्ने बताए । कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने उनले बताए।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए । उनले खाद्य सुरक्षाका लागि रासायनिक मल, विषादीलाई नियन्त्रण जरुरी रहेको बताए । उनले कोरोनाका कारण प्रभावित भए पनि कृषि विकासका लागि यसलाई अवसरको रुपमा पनि लिनुपर्ने बताए ।

सप्ताहव्यापी रूपमा मनाइने ४०औँ विश्व खाद्य दिवस कार्यक्रम आजबाट विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । यस वर्षको नारा ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ । दिवस विभिन्न कार्यक्रम गरी यही ३० गतेसम्म मनाइने छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.