आरोप प्रमाणित गर्न कांग्रेसले चुनौती दिएपछि निष्पक्ष छानविन गर्न भट्टराईको माग

आरोप प्रमाणित गर्न कांग्रेसले चुनौती दिएपछि निष्पक्ष छानविन गर्न भट्टराईको माग

२६ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन् ।

पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गरेका छन्।

‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्।

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको बताएका थिए।

उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माले देउवामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। भट्टराईले बूढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको र त्यसको प्रमाण चाहिए दिन आफू तयार रहेको गोरखामा बताएका थिए।

भट्टराईको उक्त भाषण सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। कांग्रेसले आरोप पुष्टि गर्न चुनौती दिएपछि भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दै ट्वीट गरेका हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.