कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताब आएपछि बालुवाटार पुगे प्रचण्ड

कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताब आएपछि बालुवाटार पुगे प्रचण्ड

२६ आश्विन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

अध्यक्षद्वय केही समययता पार्टी एकताका बाँकी काम र मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल गरिरहेका छन्। तर, हालसम्म प्रगति भने हुन सकेको छैन। आजको छलफलमा भने एजेण्डा मोडिन सक्ने बताइएको छ।

आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध नेकपाका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। आज सो विषयमा छलफल हुने बताइएको छ।

संसदीय दलमा दर्ता गरिएको पत्रमा पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने १५ र पूर्व माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ३ सदस्यले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा पूर्व माओवादी केन्द्रबाट समानुपातिक सदस्यमा मनोनित सदस्य तथा उपसभामुख पुष्पा घर्ती विष्ट, सुर्खेत १ ख बाट विजयी माओवादी केन्द्रकै ठम्मरबहादुर विष्ट तथा दैलेख १ क का सदस्य धर्मराज रेग्मी छन्।

बाँकी १५ सदस्यमध्ये तत्कालिन नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित ८ र सात समानुपातिक सदस्य छन्। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली निकटका ८ र नेपाल निकटका ७ सदस्य छन्।

ओली निकटका यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविस्वासको प्रस्ताब दर्ता गराएपछि प्रचण्ड पनि यस विषयमा असन्तुष्ट बनेको बताइन्छ। कर्णाली प्रदेशका नेकपाका सहइञ्चार्ज समेत रहेका कँडेलले पार्टीका प्रदेश इञ्चार्ज जनार्दन शर्मासँग पनि छलफल नगरी प्रस्ताव दर्ता गराएका थिए।

यसअघि पनि उनले दुई पटक मुख्यमन्त्री विरुद्ध प्रस्ताव दर्ताको प्रयास गरेका थिए। केन्द्रले त्यसलाई रोकेको थियो। शर्मा निकटका प्रदेशसभा सदस्यहरुले भने हस्ताक्षर गरेका छैनन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.