मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पार्टी एकताको मर्म विपरीतः प्रचण्ड

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पार्टी एकताको मर्म विपरीतः प्रचण्ड

२६ आश्विन, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मर्मविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले कर्णालीमा उत्पन्न विवाद समाधान गर्न आग्रह गरे । तर, प्रधानमन्त्री ओली दाहालको आग्रहप्रति गम्भीर नबनेको बताइएको छ । बालुवाटार जानुअघि दाहालले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई बोलाएर छलफल गरेका थिए ।

तत्कालीन समयमा पूर्वएमालेको बहुमत रहेपनि कर्णाली प्रदेशमा पार्टी एकतापछि शक्ति सन्तुलन मिलाउन पूर्वमाओवादीको भागमा कर्णाली प्रदेशका मुख्यमन्त्री परेको थियो । आफूभन्दा कनिष्ठलाई मुख्यमन्त्री बनाउने शीर्ष तहको सहमतिपछि कर्णालीका अरु नेता मौन रहेका थिए ।

उपसभामुखसहित जम्मा ३३ जना नेकपाका सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै १८ जनाले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री शाहीविरुद्ध आइतबार नेकपाका कर्णाली प्रदेश सहइन्चार्जसमेत रहनुभएका र मुख्यमन्त्रीका दाबेदार यमलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

तत्कालीन माओवादीबाट उपसभामुख भएकी पुष्पा घर्ती विष्टले पनि प्रस्तावमा हस्ताक्षर गरेकी छिन् । बहालवाला मन्त्रीबाहेक तत्कालीन एमालेका सबै प्रदेशसभा सदस्य र तत्कालीन माओवादीबाट उपसभामुख विष्ट, ठम्मर विष्ट र धर्मराज रेग्मीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.