जसरी पनि मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन तीन सासंदहरुलाई प्रचण्डको आग्रह

जसरी पनि मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन तीन सासंदहरुलाई प्रचण्डको आग्रह

२६ आश्विन, काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध पूर्वएमालेका १५ जना सांसदसँग मिलेर संसदीय दलमा दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन पूर्वमाओवादी पृष्ठभूमिका तीन जना सांसदहरुलाई नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन्।

सोमबार बिहान दाहालले आफ्नो निवास खुमलटारमा बोलाएको पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुको ‘गोप्य’ भेलापछि दैलेखका सांसद धर्मराज रेग्मी, सुर्खेतका ठम्मबहादुर विष्ट र पुष्पाघर्ति विष्टलाई मुख्यमन्त्री शाहीबिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन्।

आफ्नो नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादल, पार्टी प्रवक्ता नारायणकाजी नारायणकाजी श्रेष्ठ, नेता जनार्दशन शर्मा, ऊर्जामन्त्री वर्षमान पुनलगायत सामेल ‘गोप्य भेला’ सम्पन्न भएलगत्तै दाहालले उत्पन्न संकट निवारणका लागि जसरी पनि मुख्यमन्त्री शाही बिरुद्धको अविश्वास फिर्ता लिन ती सासंदहरुलाई आग्रह गरेको पार्टी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ‘सोमबार बिहान खुमलटारमा भएको भेलाको निष्कर्ष अनुसार अध्यक्ष दाहालले पूर्वएमालेका नेताहरुसँग मिलेर दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ। त्यसको विकल्प पनि छैन।’

‘गोप्य भेला’ लगत्तै दाहाल अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार हानिएका थिए। स्रोतका अनुसार दाहालले ओलीलाई भेट्नासाथ ‘तपाईका कारण कर्णाली प्रदेशमा गडबड भएको र समस्या समाधानका लागि तत्काल हस्तक्षप गर्न’ आग्रह गरेका थिए।

तत्काल समस्या समाधान नभए परिणाम व्यापक हुने चेतावनीसमेत दाहालले ओलीलाई दिएका थिए। तर ओलीले भने आफ्ना कारणले समस्या उत्पन्न नभएको भन्दै आफ्नो बचाउ गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.