२७ आश्विन, पर्सा।
देशका राजनीतिक दलहरुले खेल्न नसकेका अग्रगामी भूमिका पछिल्लो समय मिडियाले खेलेको जनता समावादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टरार्ईले बताएका छन्।
मंगलबार वीरगञ्जमा सञ्चालित रेडियो सान्भीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले कोरोना महामारीको समयमा तथा देशको अर्थतन्त्र खराब भएको बेला,दुई तिहाइ बहुमत भएका सरकारका शासकहरुले विभिन्न घटनाका उजुरीहरु दबाउन खोजेको समय मिडियाले अग्रगामी भूमिका खेलेर त्यसलाई बाहिर ल्याएको बताए।
उनले भने, ‘देशमा भएका विभिन्न घटनाक्रम,जनता भोकभोकै मरेको अवस्था,महिला बलात्कारका विषय,दलितमाथि भएका हिंसाका विषयमा मिडियाले अत्यन्तै सराहनीय भूमिका खेलेको छ। लोकतन्त्रलाई जनस्तरसम्म पुर्याउन मिडियाको ठूलो भूमिका रहेको छ।
उनले अहिलेको युगमा सूचना प्रविधिको माध्यमले हरेक व्यक्तिको पहुँचसम्म मिडिया पुगिसकेको समेत दाबी गरे।अधिकांश मिडियाहरु कर्पोरेट जगतसँग जोडिएको भएपनि कर्पोरेट जगतले मिडियालाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा उनले जोड थिए।
‘मिडिया भनेको स्वतन्त्र हुनुपर्छ तर,हाम्रा अधिकांश मिडियाहरु कर्पोरेट जगतसँग जोडिएका छन्’, भट्टराईले भने, ‘कर्पोरेट जगतले मिडियाबाट नाफा नकमाएर सामजिक उतरदायित्वको हिसाबले यसलाई स्वतन्त्र रुपले काम गर्न दिन मेरो आग्रह छ।”
वीरगञ्ज देशको आर्थिक राजधानी भएकोले यहाँका सञ्चार क्षेत्रले आउँदा दिनमा झनै राम्रो भूमिका खेल्न सके देशको विकाशमा सहयोग पुग्ने उनको कथन थियो। पर्सामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गर्ने नयाँ कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराउन उनी वीरगञ्ज आएका हुन्।