३० असोज, काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज र ग्रुप चलाएको अभियोगमा एक जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
पछिल्लो समय नेपालमा दैनिक ७ वटा बलात्कारका उजुरी दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ । बझाङकी बालिका सम्झना कामीको बलात्कार र हत्या भएपछि पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेका थिए । काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बलात्कारीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भएका थिए । अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।
त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।
बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।