२ कात्तिक, काठमाडौँ ।
नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड–१९)को महामारी चलिरहेको बेला सांसदहरूलाई दसैँ भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले कोरोना महामारी हाम्रो मुख्य समस्या भएको बताउँदै सांसदहरूलाई दसैँ भत्ता दिनु भन्दा उक्त रकमले भेन्टिलेटर किन्नुपर्ने बताएका हुन् ।
उनले आईतबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् । शर्माले ट्विटरमा लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं । दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’
संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भत्ता वापतको रकम लिएको भन्दै आलोचना भइरहेको बेलामा सांसद शर्माको उक्त धारणा आएको हो ।
यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन् । संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरिसकेको छ ।