३ कार्तिक, विराटनगर ।
विराटनगरबाट तीन जना सट्टेबाजी लगाउनेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
जारी इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आइपिएल)मा सट्टेबाजी लगाउनेलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आइतबार राति ११ बजेतिर पक्राउ परेका विराटनगर–१६ का ३७ वर्षीय पुरुषोत्तम शाहको घरबाट तीन जनालाई बाजी लगाउँदै गर्दा पक्राउ गरेको बताए।
अन्य पक्राउ पर्ने सट्टेबाजमा विराटनगर–१६ का ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेको प्रहरीले जनाएको छ।
एसपी खड्काले भने सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा पुरुषोत्तमको घरबाट तीनै जनालाई पक्राउ गरेको र उनीहरूका साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, तीन वटा मोबाइल, सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकल बरामद भएको छ।
अनलाइनमार्फत पैसाको बाजी लगाउने गरेको भेटिएको छ। असोज २५ गते प्रहरीले विराटनगर–११ का रोनल कँडेललाई पक्राउ गरेको छ। सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनलाई विराटनगरकै सञ्जय सिंघललाई अपहरण गरी होटलमा लगेर शरीर बन्धक एवं कुटपिट गरिएको आरोपमा प्रहरीले कँडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
विराटनगरबाट तीन साताअघि मात्रै प्रहरीले तीन जनालाई सट्टेबाजी लगाएको आरोपमा पक्राउ गरी सट्टेबाजी कसुरअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।