राजदूत नियुक्तिमा भएको ढिलाईप्रति कोरियन राजदूतको चासो

राजदूत नियुक्तिमा भएको ढिलाईप्रति कोरियन राजदूतको चासो

५ कात्तिक, काठमाडौँ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ ।

यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ ।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल समेत परेको भन्दै कृतज्ञता व्यक्त गरेका छन् । नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।

नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो कि भन्दै चासो व्यक्त गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सँधै नेपालको प्राथमिकतामा रहेको बताए। राजदूत नियुक्तिमा भएको ढिलाई प्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.