लागु औषध र सुनसहित सीमा क्षेत्रबाट चारजना पक्राउ

लागु औषध र सुनसहित सीमा क्षेत्रबाट चारजना पक्राउ

९ कार्तिक, कञ्चनपुर ।
लागु औषध र सुनसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–२ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरिएको हो।

पक्राउ परेका मध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ।

यसैगरी भीमदत्त नगरपालिका–३ भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा नं १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ गरेकाहरुबाट लागु औषध कोरेक्स ६०० मिलिटरका छ बोतल, नाइट्रोभ्याट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ ।

बरामद लागु औषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.