१६ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए ।
वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार नारायणी अस्पताल ल्याउँदा नै कोरोना संक्रमणका कारण उनको अवस्था गम्भिर थियो ।
महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।