१८ कात्तिक, काठमाडाैँ ।
खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ।
महानगरपालिकाको उक्त निर्णयको विरुद्धमा साझा पार्टीले खुलामञ्चमा नै बुधबार विहान र बेलुका खाना खुवाउन आफूले खर्च व्यहोर्ने पनि घोषणा गरेको छ ।
काठमाडाैँ महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउन रोक लगाएकोप्रति आपत्ति जनाउँदै साझा पार्टीले बुधबार बिहान र बेलुका खाना खुवाउँदा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए । ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’ साझा पार्टीले चुनौती दिएको छ ।
कोरोना सङ्क्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका बेला सरकार आफैले उनीहरूको हेरचाह गर्नुको सट्टा नागरिकस्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
लकडाउनपछि रोजगार गुमाएका वा असहायहरूलाई खुलामञ्चमा महिनौदेखि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेकोमा साेमबार काठमाडाैँ महानगरपालिकाले रोक लगाएको थियो ।