२२ कार्तिक, सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका ८, पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा इनरुवा ९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर २ का २० वर्षीय दिनेश राम, इटहरी १३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी १२ का ३२ वर्षीया शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाका विभिन्न ठाउँको बजारमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट प्रहरीले को.२२प ३००२ नम्बरको मोटरसाइकल, को.१ह ७२६० नम्बरको अटो ट्याम्पु, चारवटा बोराभित्र ५६ बन्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ । (रासस)