सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद, आफुविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार

सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद, आफुविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार

२२ कार्तिक, काठमाडौं ।
नेकपा सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाए पनि ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए ।

उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए । तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको थियो ।

ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको सचिवालयका एक सदस्यले बताए । ती सदस्यका अनुसार बैठक डाक्न माग गर्दै बालुवाटार पुगेका सचिवालयका बहुमत सदस्यलाई ओलीले उल्टै प्रश्न गरे, गुटबन्दी भयो, बैठक किन बस्ने ?

पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो ।

पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.