२७ कार्तिक, विराटनगर ।
पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको बिहीबार बिहान २ः३० बजे निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका गौतमको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ७१ वर्षका थिए । केही समयदेखि बिरामी परेका गौतमलाई निमोनिया भएको थियो ।
चितवनस्थित अस्पतलामा उपचारपछि उनी घर फर्किएका थिए । गौतम तत्कालीन माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमि सुधार तथा व्यवस्थापनमन्त्री बनेका थिए ।
पछि उनी नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा आबद्ध थिए । तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका गौतम भट्टराईको नयाँ शक्ति पार्टीमा आएका थिए ।
पछिल्लो समय उनले बन्दिपुरमै कृषि फार्म सञ्चालन गर्दै आएका थिए । गौतमको देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौतमका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।