२७ कात्तिक, काठमाडौं । सरकारले कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।
केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।
अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले बताए ।
केसी करिब एक महिनादेखि भैरहवामा थिए। त्यही क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो। तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यही दिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।