२७ कात्तिक, काठमाडौँ ।
संसदीय सनुवाइ समितिले संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले मंसिर दोस्रो साताभित्र प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समिति सभापति कर्णले भने, ‘समावेशीको विषय उठेको छ । सबै राजदूतहरूको सिफारिस एकै पटक होस् जसले समावेशी सिद्धान्त पालना हुन्छ भनेर प्रधानमन्त्रीसँग सम्पर्क गरेर मंसिर ११ गतेको आसपासमा बोलाउने कुरा भएको छ ।’ समितिको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिबारे सांसदहरूले कुरा उठाएका थिए ।
समितिले यसअघि पनि राजदूत तथा संवैधानिक आयोगहरूमा हुने नियुक्तिबारे छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएपछि भने समितिले उक्त विषय थाती राखेको थियो ।