बंगलादेशसँग नेपाल २-० ले पराजित

बंगलादेशसँग नेपाल २-० ले पराजित

२८ कात्तिक, काठमाडौँ ।

झण्डै एक वर्षपछि मैदान उत्रिएको नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँग पराजित भएको छ । शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो ।

खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २–० गोलले हरायो । नेपालले दुवै हाफमा १–१ गोल खाएको थियो । खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए ।

नेपालका लागि पहिलो हाफमा रवी पासवान र अन्जन विष्टले गोल गर्ने अवसर खेर फाले । बल पोजिसनमा पकड बनाएपनि नेपाल भने घरेलु टिमविरुद्ध गोल गर्न चुकेको थियो । तर, बंगलादेशविरुद्ध तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए । यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ ।

२०७५ सालको भदौमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । नेपाली टिमले मङ्सिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नेपाल बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको थियो । एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदैछ । फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.