३ मंसिर, काठमाडौँ ।
नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।
ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो ।
तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्रायः सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो। बुधबार नै यही समयमा नेकपाको सचिवालय बैठक पनि बस्दैछ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।
कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए।
अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुगेका थिए । दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए ।
त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए । यस्तै, मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकी छिन् ।
रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुअघि नेकपाका कार्यकारी अध्यक्ष दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए ।