विकल्प र सुवर्णको गिरफ्तारी मानवअधिकारको घोर उल्लङ्घन होः प्रकाण्ड

विकल्प र सुवर्णको गिरफ्तारी मानवअधिकारको घोर उल्लङ्घन होः प्रकाण्ड

७ मंसिर, विराटनगर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना दुई नेताको बिनासर्त रिहाई गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले विज्ञप्ति जारी गर्दै केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)को विनासर्त रिहाईको माग गरेका छन्।

प्रहरीले राजधानीको नख्खु क्षेत्रबाटउनीहरुलाई पक्राउ गरेको थियो। नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले विनासर्त रिहाई नगरे उत्पन्न हुने परिस्थितिको जिम्मेवार ओली सरकार हुने चेतावनी पनि दिएका छन्।

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी प्रकाण्डले गरेका छन्।

उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘क्रान्तिका मान्छेहरुलाई निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन ।

त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ’, विज्ञप्तिमा चेतावनी दिइएको छ।

‘चोरलाई चौतारो र साधुलाई शूली गर्ने ओली सरकार र यसको गृह प्रशासनकाविरुद्ध उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी जनवर्ग लगायतलाई हाम्रो पार्टी विशेष अपिल गर्दछ’, प्रकाण्डले भनेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.