कप्तान मल्लसहित ऐरी र पौडेल कोरोनामुक्त

कप्तान मल्लसहित ऐरी र पौडेल कोरोनामुक्त

१३ मंसिर, विराटनगर ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्स्म्यान रोहितकुमार पौडेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्।

संक्रमण भएको पत्ता लागेको तीन दिनपछि नै उनीहरु कोरोनामुक्त भएका हुन्। तीनै जना खेलाडीले सामाजिक सञ्जाल फेसबुकमा छुट्टाछुट्टै स्टेटस राख्दै आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्।

ज्ञानेन्द्र मल्लले हिजो साँझ फेसबुक पोष्ट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जनाएका हुन्। उनले आफूलाई कुनै लक्षण नदेखिएको र कुनै जटिलता पनि नआएइ रिपोर्ट नेगेटिभ आएको जनाकारी दिएका छन्।

उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्स्म्यान रोहितकुमार पौडेलले पनि आफ्नो पछिल्लो रिपोर्ट फेसबकुमा सार्वजनिक गरेका छन्। तीनै जनाले आफूहरुलाई कोरोनाको लक्षण भने नदेखिएको जनाएका छन्।

कप्तान मल्लसहितका तीन खेलाडीलाई गएको ९ मंसीरमा गरेको पीसीआर जाँचको रिपोर्ट पोजिटिभ आएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले बन्द परीक्षणमा राख्नका लागि शुरुमा बोलाएका २२ मध्ये १६ खेलाडीको उक्त दिन परीक्षण भएको थियो।

क्यानले कोरोना नेगेटिभ आएका खेलाडीलाई मात्र ११ मंसीरदेखि शुरु प्रशिक्षणमा सहभागी गराएको छ। प्रशिक्षणस्थल प्रवेशमा निकै कडाइ गरिएको छ। त्यहाँ एक साताका लागि मिडियालाई समेत प्रवेशमा रोक लगाइएको छ।

कोरोना परीक्षण नेगेटिभ आएपछि भने अब तीनै जना खेलाडी प्रशिक्षणमा सहभागी हुन सक्नेछन्। ब्याट्स्म्यान रोहितकुमार पौडेलले अझै स्वास्थ्य सुरक्षा मापदण्ड र सावधानी अपनाउन आवश्यक रहेको जनाएका छन्।

क्रिकेटर सन्दीप लामिछानेले पनि आफू संक्रमित भएको सार्वजनिक गरेका छन्। ट्विटरमार्फत आजै आफू संक्रमित भएको सार्वजनिक गरेका हुन्।

गएको बुधबारदेखि आफूलाई शरीरका केही भागमा पीडा महसुस भएको उनले उल्लेख गरेका छन्। तर, आफू केही ठीक भएको पनि उनले जनाएका छन्। यसअघि कोरोना संक्रमित भएका वसन्त रेग्मी पनि घरमा आराम गरिरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.