१४ मंसिर, काठमाडौं ।
चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी फर्किएका हुन् ।
२० सदस्यिय डेलिगेशन टिमसहित बिहान १० बजे नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए । रक्षामन्त्री फेंग्हे एकदिने नेपाल भ्रमण सकेर पाकिस्तान भ्रमणका लागि निस्केका हुन् ।
नेपालमा उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका थिए । फेंग्हेले नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन प्रतिवद्धता जनाएका छन् ।