देशमा अस्थिरता चाहने शक्तिहरू सल्बलाएः परराष्ट्रमन्त्री

देशमा अस्थिरता चाहने शक्तिहरू सल्बलाएः परराष्ट्रमन्त्री

१५ मंसिर, गुल्मी ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरू सल्बलाएको बताएका छन्।

गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

देशमा धेरै समयपछि राजनीतिक स्थायित्व र विकास देख्‍न नसक्ने शक्तिहरूले सरकार परिवर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताए। वर्तमान सरकारले जनमुखी कामहरू गर्दै आएको दाबी गर्दै उनले केका लागि सरकार परिवर्तन भन्दै प्रश्नसमेत गरे।

राष्ट्रियताको पक्षमा दरिलो गरी उभिँदा, भ्रष्टाचार नियन्त्रण गर्दा, जनताको घरघरमा खानेपानीका धारा आउँदा, जनताका खरका छाना हटाई जस्तापाता लगाउँदा र जनमुखी कामहरू गर्दा सरकार परिवर्तन गर्नुपर्ने भन्दै हल्ला मच्चाउनेहरुको पछाडि नलाग्न उनले आग्रह गरे।

पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट समाधान हुने उनले बताए। ठूलो परिवारमा कहिलेकाहीँ विवादहरू सृजना हुने भन्दै ती समस्या छलफल र बैठकका माध्यमबाट समाधान हुने बताए।

निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने भन्दै जनताको मतलाई कदर गर्ने उनले बताए।

निर्वाचनको समयमा जनताहरूसँग हामीहरूलाई मत दिनुहोस्, हामी राजनीतिक स्थायित्व र विकास गर्छौं भनेर गरेका प्रतिबद्धताहरूलाई पूरा नगरे जनताको मतको अपमान हुने उनले बताए।

त्यसैले नेकपाको नेतृत्वमै स्थिर सरकार रहने र देशमा सुखी नेपाली र समृद्ध नेपाल पनि नेकपाकै नेतृत्वमा आउने उनले दाबी गरे। यस्तै, गुल्मीका जनताहरुले दिएको मतलाई कदर गर्दै जिल्ला र देशको शिर कहिल्यै झुक्न नदिने गरी काम गर्ने उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.