१५ मंसिर, बैतडी । तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
निजी स्रोत शिक्षक सङ्घर्ष समितिले विज्ञप्ति निकालेर आफूहरुले गएको चैतदेखि तलब नपाएको र तत्काल तलब निकासा गर्न माग गरेका छन् । लामो समयदेखि तलब नै नपाएपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष लक्ष्मी साह चन्दले जानकारी दिए ।
चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
गाउँपालिकाले २४ घण्टाभित्र सुनुवाइ नगरे थप आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १ सय ९१ निजी स्रोतका शिक्षक छन् । कोरोना महामारीका बेलामा तलब निकासा नहुँदा गुजारा गर्न समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँडफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताएका छन् ।