१७ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन्।
तनहुँको दमौलीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताएका हुन्।
प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो। त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु, उनले भने ।
पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए।